Vol. I · No. 04 Global South Solidarities · अभिलेख २०५६ — २०५८ · वि. सं.

चमार जातिको ऐतिहासिक
सिनो बहिष्कार आन्दोलन:
नेपालका राष्ट्रिय पत्रिकाहरुले दिएको स्थान

सिराहा र सप्तरीका चमार समुदायले वर्णव्यवस्थाको अनुल्लंघनीय श्रम विभाजनमा प्रहार गर्दै चलाएको ऐतिहासिक आन्दोलनलाई नेपाली सञ्चारमाध्यमले कस्तो प्राथमिकता दियो — एक अनुसन्धान।

Researcherरोहेज खतिवडा
Co-researcherसम्झना विक
Periodवि. सं. २०५६ / २०५७
Material४१ सामग्री / ३९ अभिलेख
▸ Project Abstract

चमार जातिको ऐतिहासिक सिनो बहिष्कार आन्दोलन: नेपालका राष्ट्रिय पत्रिकाहरुले दिएको स्थान

झन्डै तीन हजार वर्षदेखि दक्षिण एसियाका दलितहरूले जात व्यवस्थाको भार बोकिरहेका छन् र यसबाट मुक्तिका लागि विभिन्न प्रयास गरिरहेका छन् । दलित समुदायले आफ्नो मुक्तिका लागि गरेका साना-ठूला विभिन्न आन्दोलन गरेका छन्, जसमध्ये स्थानीयस्तरका थुप्रै स-साना आन्दोलनहरू बिस्तारै सार्वजनिक सम्झनाबाट मेटिन थालेका छन् । वि.सं. २०५६-५७ सालमा नेपालको सप्तरी र सिराहा जिल्लामा भएको सिनो बहिष्कार आन्दोलन यस्तै एउटा आन्दोलन हो । परम्पारगत रूपमा गाउँमा मरेका गाई लगायत घरपालुवा पशुको सिनो बहिष्कार गर्दै आएका चमार समुदायले यो बाध्यकारी जातिय कामबाट मुक्ति खोजे र सिनो उठाउन अस्वीकार गरे । परिणामस्वरूप, उनीहरू समाजको कथित उपल्लो जातिको दमनमा परे । यो दमन विरूद्ध उनीहरूले निरन्तर आन्दोलन गरे र सफलता पनि प्राप्त गरे । यो सफल दलित आन्दोलनलाई नेपालका राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिकाहरूले कति महत्व दिए र कस्ता कस्ता सामग्री प्रकाशित गरे भन्नेमा यो अनुसन्धान केन्द्रीत छ । आन्दोलन चलेको करिब दुई वर्षको अविधिमा प्रकाशित भएका ४१ सामग्री प्रकाशित भएको हामीले प्राप्त गर्‍यौं । यो संख्याले नै नेपाली पत्रिकाहरूले उक्त आन्दोलनलाई खासै महत्वका साथ नहेरेको देखिन्छ । यो अनुसन्धानले सामाजिक रूपान्तरण र सामाजिक न्यायका लागि अत्यन्तै महत्वपूर्ण उक्त आन्दोलनलाई पत्रिकाहरूले अन्य सामान्य घटनासरह लिएको देखिन्छ । यो अनुसन्धानमा हामीले पहिलो त्यसबेला प्रकाशित भएका सामग्रीहरूलाई संकलन गरी डिजिटल संग्रहमा ल्याएका छौं भने पत्रिकारहरूले उक्त आन्दोलनलाई दिएको महत्वबारे सामान्य विश्लेषण पनि गरेका छौं ।

§ I विशेष लेख · The Feature

दक्षिण एसियाली समाज वर्णव्यवस्थामा आधारित छ । तीन हजार वर्षभन्दा लामो इतिहास बोकेको वर्णव्यवस्थाको सोपान शृङ्खलामा सबैभन्दा तल रहेको दलित समुदायले यो विभेदकारी सामाजिक संरचनाको सम्पूर्ण भार युगौंदेखि उठाइरहेको छ । बाध्यकारी अनुलङ्घनीय श्रम विभाजन, उक्त श्रमको उपज सम्पत्ति माथि माथिल्लो जातको नियन्त्रण, ज्ञान र शिक्षामा प्रतिबन्ध, राजकीय शक्तिमा कुनै किसिमको पहुँचमा पूर्णतया निषेध जस्ता कठोर विषेशता यो जातव्यवस्थाले बोकेको छ । लेखक आहुति आफनो किताब जातवार्तामा लेख्छन्, ‘वर्णव्यवस्थामा भएको श्रम विभाजनको संसारमा अन्त कतै नभएको एउटा मुख्य विशेषता थियो – अनुल्लङ्घनीयता । एउटा वर्णका निम्ति तोकिएको श्रम श्रेत्र त्यसका सन्तान–दरसन्तान कसैले पनि उल्लङ्घन गरेर अर्को श्रम क्षेत्र वा पेशा अपनाउन नपाउने नै वर्णव्यवस्थाको सार हो ।’

सिनो अर्थात पशुको मृत शरीर उठाउने काम इतिहासमा लामो समुदायको काँधमा थोपरिएको थियो । समाजले जबरजस्ती थोपरेको यो कामलाई अंगालेर नगर तथा गाउँ स्वच्छ राख्ने सहयोग पुर्‍याउने तिनै दलितहरूलाई सम्मानको दृष्टीकोणले कहिले पनि हेरिएन । कथित उच्च जाति मानिसहरूले उनीहरूलाई प्रदुषित र छुन समेत अयोग्यको रुपमा व्यवहार गरिरहे। अझ, यही सिनो उठाउने काम नै दलितको अछुतिकरणको सूरूवात थियो भन्ने बिआर अम्बेडकरको दाबी छ । अम्बेडकरका ‘अछुतपना, मृत गाई र ब्राम्हण’ तथा ‘अछुत को थिए र उनीहरू कसरी अछुत भए’ शीरर्षकका दुई लेखहरूमा कसरी सिनो उठाउने विषयलाई लिएर दलितहरूको सामाजिक बहिष्करण र अछुतपना सुरू भयो भन्ने व्याख्या गरिएको छ । खासगरी वैदिक धर्मावलम्बीहरू गाईपूजक भए पछि मृत गाईको शरीर उनीहरूको लागि छुन अयोग्य भयो, त्यसैले गाईको मासु खाने समुदायलाई मृत गाई व्यवस्थापन गर्न लगाउने सामाजिक थिति सुरू भएको थियो । तर, मृत गाई छुने भएकाले यहीँबाट दलितहरूको समाजिक बहिष्करण सुरू भएको उनको तर्क छ । सिनो व्यवस्थापन गर्ने दलितहरूलाई नेपाल र भारतका कतिपय क्षेत्रमा ‘चमार’ भन्ने गरिन्छ ।

दुई हजार वर्ष भन्दा धेरै समय सिंगो दक्षिण एसियाली क्षेत्रभित्र दलितहरूले मृत पशु व्यवस्थापन गरिरहे र यसबापत अछुतपना र सामाजिक अत्याचार पनि भोगिरहे । दलितहरूमाथि लादिएको र अनुङ्घलनीय बनाइएको यस्तो कामलाई राज्य र समाजका अरू पक्षहरूले पनि साथ दिइरहे । वर्णव्यवस्थामा आधारित समाज भएकाले आधुनिक कालमा पनि राज्य सञ्चालनका सबै अंगहरूमात्रै नभएर नागरिक समाजका संरचनामा समेत कथित उच्च वर्णको मात्रै हालीमूहाली हुँदा दलित आवाजहरू मिडिया र सार्वजनिक बहसमा कसरी सांघुरिँदै जान्छ भन्ने यो विश्लेषणले देखाएको छ ।

नेपालको सिराहा र सप्तरी जिल्लामा रहेका चमार समुदायले वर्णव्यवस्थाको त्यही अनुल्लंघनीय श्रम विभाजनको प्रावधानमा प्रहार गर्दै ‘सिनो बहिष्कार’ आन्दोलन चलाए । वि. सं. २०५६/५७ सालमा यो आन्दोलनलाई नेपाली सञ्चारमाध्यमले कस्तो व्यवहार गर्‍यो भन्ने बुझ्नका लागि हामीले तत्कालीन समयमा प्रकाशित नेपालका केही दैनिक तथा साप्ताहिक पत्रिकाहरूले उक्त आन्दोलनसँग सम्बन्धित समाचारलाई कति प्राथमिकता साथ प्रकाशित गर्‍यो भनेर हेरेका छौं ।

‘दलनविरुद्ध प्रतिरोध: नेपाली दलितहरुको संघर्षगाथा’ किताबमा अभियन्ता तथा लेखक भोला पासवानले उल्लेख गरेको मिति अनुसार यो आन्दोलनको सुरूवात २०५६ असारको सुरुवातमा सप्तरीको मल्हङ्गवामा चमार समुदायले सिनो फाल्न बन्द गर्ने घोषणा गरे । कथित उच्च जातिका मानिसको घरमा मरेको पशुको सिनो फाल्न दलितहरूले अस्वीकार गरेका थिए । यसरी अस्वीकार गर्ने बलदेव चमार तथा उनका तीन भाइलाई गैर दलितहरुले सामाजिक बहिष्कार गरेपछि दलितहरू पनि संगठित रूपमा नै आन्दोलनमा उत्रिएका थिए । यो घटना बिस्तारै सप्तरीबाट सिराहा जिल्लासम्म फैलियो भने राष्ट्रिय रूपमा नै ठूलो सन्देश दिन सफल भयो । यति मात्रै नभएर, राज्यसत्ताका सबै अंग, राजनीतिक दलहरू र नागरिक समाजका संरचनाबाट कतै अवरोध तथा कतै आवश्यक सहायताको अभावबीच पनि अधिकतम सफलतामा टुंगिएका दुर्लभ दलित आन्दोलनहरूमध्ये यो आन्दोलन पनि एक बन्न पुग्यो । तर, यस्तो महत्वपूर्ण आन्दोनलबारे खासगरी काठमाडौंमाबाट प्रकाशित हुने नेपाली दैनिक तथा साप्ताहिक पत्रिकाहरूले दिएको प्राथमिकता भने निराशाजनक देखियो ।

हामीले त्यसबेला काठमाडौंबाट प्रकाशित हुने कान्तिपुर दैनिक, नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, हिमालय टाइम्स दैनिक, दृष्टि साप्ताहिक, साप्ताहिक नयाँ करेन्ट, साप्ताहिक प्रकाश, साप्ताहिक छलफल, साप्ताहिक जन्मभूमि र धरानबाट प्रकाशित हुने ब्लास्ट दैनिकका उक्त अवधिका प्रकाशनहरू हेर्‍यौं । साथै, अंग्रेजी भाषाको द काठमाण्डु पोष्ट पनि हेर्‍यौं, लगभग दुई वर्ष चलेको आन्दोलनबारे यो पत्रिकामा हामीले दुईवटा सामाचा पायौं । यी पत्रिकाहरू सिनो बहिष्कार आन्दोलनबारे कुनै न कुनै सामाग्री प्रकाशित गरेका पत्रिकाहरू हुन् । त्यसैसमय प्रकिशत हुने साप्ताहि पत्रिकाहरू नेपाल जागारण, युग संवाद, देशान्तर, तरुण, नयाँ किरण, नेपाली पत्र, पुनर्जागरण, विमर्श, गतिविधि, घटना र विचार, खबर कागज, जनधारणा, खबर पत्रिका, जनएकता, निष्पक्ष लगायतमा हामीले कुनै पनि सामग्री प्राप्त गर्न सकेनौं । ती साप्ताहिक पत्रिकाले यस्तो महत्वपूर्ण आन्दोलनको समाचारलाई कुनै महत्व दिएको देखिँदैन। उनीहरूको प्राथमिकतामा सत्तासीन र प्रतिपक्ष राजनीतिक दलका समाचार, राजा, प्रधानमन्त्री, माओवादी गतिविधि, संसदीय मामिला, अन्तर्राष्ट्रिय समाचारलाई प्राथमिकतामा थिए ।

सिरहा–सप्तरी चमार समुदायले सिनो फाल्ने काम गर्न अस्वीकार गर्ने निर्णयबाट भएको आन्दोलनको समाचारलाई तत्कालीन छलफल साप्ताहिक पत्रिकाले २०५७ बैशाख ११ गते पहिलो र आठौं पृष्ठमा दलितहरु आन्दोलनमा उत्रिए शिर्षकमा समाचार छापेको थियो । त्यस्तै, नयाँ करेन्ट साप्ताहिकले २०५७ बैशाख २१ पृष्ठ पहिलो र आठौंमा जातीय भेदका कारण लहान तनावग्रस्त चमार समुदायमा सार्वजनिक भोज शिर्षकमा समाचार छापेको थियो भने सोही साप्ताहिक पत्रिकाले वैशाख २०५७ बैशाख २७ गते सातौं पृष्ठमा चमारहरुको पानी चलाइयो शिर्षकमा समाचार छापेको थियो । २०५७ बैशाख २७ दृष्टि साप्ताहिकमा पृष्ठ ७ मा जातीय दंगाले विष्फोटक रुप लिने भनेर छापिएको थियो । २०५७ भदौं १७ गते साप्ताहिक जन्मभूमिले पृष्ठ तीनमा पत्रकारहरु माथि फेरि आक्रमण शिर्षकमा समाचार थियो भने सोहि भदौ २६ गते साप्ताहिक प्रकाशले पाँचौं पृष्ठमा सप्तरी: ‘सिनो’ काण्डले जातीय द्वन्द्व निम्त्यायो शिर्षकको समाचार छापेको थियो । त्यसैगरि २०५७ कार्तिक २७ गते छलफल साप्ताहिकमा पृष्ठ पहिलो र आठौं गरि चमारलाई औषधीमा पनि प्रतिबन्ध शिर्षकमा छापिएको थियो ।

दैनिक पत्रिका तर्फ कान्तिपुरले २०५७ साउन ४ गते त्यस आन्दोलन सम्बन्धी पहिलो समाचार सातौं पृष्ठमा विविधामा रमेश कुमार रम्तेलको चमार जाति र मानव अधिकार शिर्षकको टिप्पणी छापेको थियो भने साउन २१ गते पृष्ठ सातमा छुवाछुत विरुद्धका सम्मानित योद्धामा समाचार थियो । चमार यस सिनो आन्दोलन सम्बन्धी समाचारहरु २०५७ भदौं ११ गते हिमालय टाइम्सले आफ्नो तीन पृष्ठमा चमार जातिले सिनो फाल्नुपर्ने बाध्यता अन्त्य गर्न माग शिर्षक स्थान दिएको थियो भने सोहि महिना भदौ २२ गते गोरखापत्रमा पृष्ठ सातमा चमार बहिष्कारमा नलाग्ने निर्णयकोको समाचार छापेको थियो । त्यस्तै सोहि आन्दोलनको समाचार कान्तिपुरले २०५७ भदौ १ गते पृष्ठ पाँचमा हरिजनहरुले सिनो नफाल्ने भएपछि, त्यस्तै भदौ २ गते पहिलो पृष्ठमा बरु गर्धन जाओस्-सिनो चाँहि फाल्दैनौ, भदौ ४ गते आन्दोलन सम्बन्धि लालटिन बालेर विरोधको तस्वीर पहिलो पृष्ठमा छापेको थियो । सोही समाचारको फलोअपमा कान्तिपुरको दैनिकको भदौ ५ गतेको पृष्ठ तीनमा चमार जातिको खानेपानी पाइपमा सिनो फालियो, भदौ १५ गते पृष्ठ तीनमा चमार जाति आन्दोलनको तयारीमा र पृष्ठ बिसमा चमार नाकाबन्दी अध्ययन टोली माथि हातपात, भदौ २४ गते अठारौंमा पृष्ठमा सप्तरी जिप्रकामा भएको धर्ना स्थगितमा समाचार थिए । तत्कालिन दैनिक पत्रिकाहरु गोरखापत्रले राजपरिवारका गतिविधि, माआवादी जनयुद्ध, सरकार, संसद र राजनीतिक दल समाचारलाई छापेको थियो । राष्ट्रिय स्तरकोको जातीय विभेद र सामाजिक बहिष्कारमा परेका चमार समुदायलाई राष्ट्रिय पत्रिकाले महत्वहिन ठानेको देखिन्छ । त्यस्तै नेपाल समाचार पत्र, काठमाडौं पोष्ट, राइजिङ नेपाल, हिमालय टाइप्सले पनि चमार जातिको आवाजलाई वेबास्था गरेको देखिन्छ । तत्कालिन दैनिक पत्रिकाले यस आन्दोलनलाई सम्बोधन गर्ने सम्पादकिय, ओपिनियन छापेको छैन । पत्रिकाहरुले मधेशी दलित र सामाजिक आन्दोलनको मर्म र महत्व नकारेको छन् ।

कान्तिपुर दैनिकले २०५७ भदौ पछि फागुन २३ गते देखि यस आन्दोलनको समाचार छापेको देखिन्छ । फागुन २३ गते पृष्ठ २ जातीय छुवाछुत गर्ने माथि कारबाहीको माग गर्दै धर्ना, २५ गते पृष्ठ चारमा छुवाछुत विरोधी आन्दोलन सिंहदरबारतिर- सोही पत्रिकाको पृष्ठ १७ मा आन्दोलनको फोटो छापिएको थियो। फागुन २६ पृष्ठ तीनमा छुवाछुत विरुद्ध भद्रकालीमा धर्ना, चैत्र २ गते पृष्ठ पाँचमा दलित उत्थानका लागि जिल्ला परिषद्बाट विशेष प्रस्ताव, चैत्र ५ गते सातौं पृष्ठमा दलितहरुको मुक्तिका लागि हामी मर्न तयार छौं, विरेन्द्र पासवानको अन्तर्वार्ता, चैत्र ६ गते पृष्ठ तीनमा चमार बहिष्कार विरुद्ध पाँचौ चरणको आन्दोलन घोषणा, चैत्र ८ गते पृष्ठ एकमा लहानका चमार माग्दै हिंड्दैनन् अचेल, चैत्र ११ पृष्ठ चारमा दलितद्धारा लहानमा ‘कालो दिवस’, चैत्र १३ पृष्ठ तीन छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न रिट गरिने रहेको छ । त्यस्तै यस आन्दोलनलाई चैत्र १३ नेपाल समाचार पत्रले पृष्ठ २ मा दलित गैरसरकारी संस्ता महासंघले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने, गोरखापत्रमा चैत्र ११ गते पृष्ठ तीनमा जातीय विभेद र समानताका लागि स्पष्ट नीति र कार्यक्र्र्रमको खाँचो र १३ गते पृष्ठ ११ मा छुवाछुत प्रथाविरुद्ध मुद्दा दायर गरिने शिर्षकको समाचारले स्थान पाएका थिए ।

अंग्रेजीमा आन्दोलनको बारे समाचार 19 March, 2000 The Kathmandu post, page 8, Chamars renew their demands for action and 26 March, 2000 The Kathamandu post, page 1, News healine – Chamars of Siraha take to court, मा प्रकाशित भएको पाइन्छ ।

आन्दोलनको फलोअपको अन्तिम समाचार २०५८ माघ ३ गते कान्तिपुर दैनिकको पृष्ठ १२ मा चमार बहिष्कार सम्बन्धी मुद्दाको फैसला तयारको शिर्षकमा थियो ।

तत्कालिन साप्ताहिक र दैनिक पत्रिकाको निरन्तर खोज अनुसन्धानबाट चमार समुदायको सिनो बहिष्कार आन्दोलन राष्ट्रिय मुद्दा नमानिएको, पत्रिकामा स्थान नदिएको देखिएको छ । समाचार छापेका पत्रिकाहरुले यस सामाजिक विषयलाई प्रमुख स्थानमा नभई पत्रिकाको कम महत्वमा अनि पाठकको ध्यान नजाने पृष्ठमा राखिएको पाइन्छ । पत्रिकामा कुन समाचारलाई कति महत्वदिइको छ भन्ने कुरा त्यो समाचार कुन पृष्ठमा छापिएको छ भन्ने कुराले प्रमुख अर्थ राख्छ । हामीले हेरेका पत्रिकाहरू मध्ये कान्तिपुर दैनिक र धरानबाट प्रकाशित हुने ब्लास्ट दैनिक तथा साप्ताहिक नयाँ करेन्ट र छलफल साप्ताहिकले मात्रै यो आन्दोलनको सामग्रीलाई पहिलो पृष्ठमा स्थान दिएको पायौं । यस्तै, कान्तिपुर मिडिया ग्रुपबाट नै प्रकाशित हुने अंग्रेजी दैनिक द काठमाडौं पोष्टले पनि एउटा सामग्री पहिलो पृष्ठमा प्रकाशित गरेको पायौं । कान्तिपुरले दुई वटा सामाचार र एउटा फोटो पहिलो पृष्ठमा प्रकाशित गरेको छ भने साप्ताहिक नयाँ करेन्टले एउटा समाचार पहिलो पृष्ठमा प्रकिशत गरेको छ । साप्ताहिक छलफलले दुई वटा सामाचारहरूलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ । अन्य पत्रिकारहरूले यो आन्दोलनको कुनै पनि विषयलाई पहिलो पृष्ठमा स्थान दिन योग्य मानेको देखिएन । पत्रिकाका आकार फरक फरक हुने भएकाले भित्रि पृष्ठमा समेटिएका समाचारहरूको तुलना हुन नसकेपनि अधिकांश पत्रिकाहरूले यो आन्दोलनलाई सामान्य घटनाका रुपमा मात्र लिएको भने सामाचारलाई दिइएका स्थानहरूले प्रष्ट पार्छ । हामीले संकलन गरेका ४१ सामग्रीमध्ये ३३ वटा भित्रि पृष्ठमा अंटाइएका छन् । जसमध्ये एउटा सामग्री विचार पृष्ठको भएकाले त्यसको स्थान निर्धारित नै हुन्छ ।

संख्याका हिसाबले हेर्दा कान्तिपुर दैनिकले मात्रै यो आन्दोलनलाई उच्च प्राथमिकता दिएको देखिन्छ । हामीले प्राप्त गरेका ४१ सामग्री मध्ये २१ वटा कान्तिपुरमा प्रकाशित छन् भने २ वटा त्यही मिडिया हाउसको अंग्रेजी प्रकाशन द काठमाडौं पोष्टमा । आधाभन्दा धेरै त कान्तिपुरमा नै छन् भनिसकेपछि अरू पत्रिकामा छापिएका सामग्रीको संख्या गन्न आवश्यक नै परेन । यसले नै उनीहरूले आन्दोलनलाई दिएको प्राथमिकता प्रष्ट पार्छ ।

नेपालको तत्कालीन संविधान-२०४७ को धारा ११ ले कुनै पनि व्यक्तिलाई कुनै पनि व्यक्तिलाई करकापबाट कुनै कार्य गराउन पाइँदैन भन्ने स्पष्ट अधिकार दिइ सक्दा पनि गैर दलित समुदायले जातीय पेसाको रुपमा बाध्यकारी बनाएका थिए जसको प्रतिवादमा चमार समुदायले ऐतिहासिक आन्दोलन गरे र सिनो फाल्ने बाध्यकारी जातिय पेशा नगर्ने निर्णय गरे । कथित उपल्लो जातिले उनीहरूको निर्णयको सम्मान गर्नुको साटो उल्टै सिनो फाल्न दबाव सिर्जना गर्न विभिन्न किसिमले दमन गर्न थाले । यसकै प्रतिरोधका रुपमा चलेको यो आन्दोलन नेपालमा र सिंगो दक्षिण एसियामा भएका सफल दलित आन्दोलनमध्ये एक बन्यो ।

तर, यस्तो महत्वपूर्ण आन्दोलनबारे नेपाली मिडिया करिब करिब बेखबर जस्तै देखिएको छ । कान्तिपुर दैनिक बाहेकका पत्रिकाहरूले यसबारे अत्यन्तै न्युन समाचार प्रकाशित गरेका छन् । यो आन्दोलनबारे समाजमा बहस छलफल गराउने काम वा सरकार तथा समाजको कथित माथिल्लो जातिका भनिएका मनिसहरूमाथि दबाव बनाउने काम कुनै पनि सञ्चारमाध्यमले गरेको देखिँदैन । नेपालमा भएका धेरैजसो साप्ताहिक पत्रिकाले त यसबारे कुनै सामाचार सामग्री पनि प्रकाशन गर्न आवश्यक ठानेनन् भने बाँकीले पनि घटनालाई समाचारका रुपमा प्रस्तुत गर्ने बाहेक अन्य सामग्री प्रकाशन गरेको देखिएन । यसले, उक्त आन्दोलनको गम्भीरता र महत्वलाई नेपाल सञ्चारमाध्यमले बेवास्ता गरेको देखिन्छ ।

§ II अभिलेख · The Clippings Archive
Rohej Khatiwada
Researcher
रोहेज खतिवडा
Rohej Khatiwada
English

Rohej Khatiwada is a Nepali writer, translator, independent journalist, and political analyst. His intellectual and journalistic work engages critically with neoliberalism and its socio-political consequences, particularly in the context of the Global South. He has a longstanding interest in the history of ancient South Asia, with a particular focus on the origins and historical evolution of the caste system. Alongside his historical interests, he writes regularly on global political affairs, international relations, and contemporary political developments. He is also the editor and translator of the anthology 21au Shatabdima Nigarani Ra Swatantrata (Surveillance and Freedom in the 21st Century), a collection of contemporary essays.

रोहेज खतिवडा नेपाली लेखक, अनुवादक, स्वतन्त्र पत्रकार तथा राजनीतिक विश्लेषक हुन्। उनी नवउदारवाद र तेस्रो विश्वमा यसले पारेका प्रभावका आलाेचकका रुपमा परिचित छन्। उनी दक्षिण एसियाको प्राचीन इतिहास, खासगरी जात-व्यवस्थाको उत्पत्ति र यसको ऐतिहासिक विकासक्रमको अध्ययनमा गहिरो रुचि राख्छन्। उनले विश्व राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक राजनीतिक विषयहरूमा नियमित रूपमा लेख्दै आएका छन्। उनको सम्पादन तथा अनुवादमा समकालीन निबन्धहरूको सङ्ग्रह ‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ (Surveillance and Freedom in the 21st Century) प्रकाशित छ।

Samjhana BK
Co-researcher
सम्झना विक
Samjhana BK
English

Samjhana is a Nepali journalist committed to representing women, Dalit, and marginalized communities. Her journalistic work focuses on amplifying voices that are often underrepresented in mainstream discourse, with a particular interest in social justice and grassroots narratives. She is pursuing her Master's in Media Studies from Kathmandu University, Nepal.

सम्झना विक पत्रकार हुन्। उनी पत्रकारिता मार्फत दलित, महिला तथा सीमान्तकृत समुदायको आवाज उठाउन प्रतिबद्ध छिन्। उनको पत्रकारिता खासगरी सामाजिक न्याय र समुदायको भोगाई तथा अनुभवलाई मूलधारको सार्वजनिक विमर्शमा ल्याउनमा केन्द्रीत छ। समाजमा पर्याप्त रूपमा प्रतिनिधित्व नपाएका आवाजलाई उजागर गर्दै उनी आफ्नो पत्रकारितामार्फत समावेशी संवाद निर्माणमा योगदान पुर्‍याइरहेकी छन्। सम्झना अहिले काठमाडौं विश्वविद्यालयबाट मिडिया स्टडिजमा स्नातकोत्तर अध्ययनरत छिन्।